२०७६, साउन ०६ सोमबार

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

२०७६, असार २७ शुक्रबार |

क्रिकेटको जन्मभूमि मानिने इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोड्न सफल भएको छ ।घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौथो पटक फाइनलमा पुगेको हो ।यसअघि तीन पटक फाइनलमा पुगे पनि इंग्ल्याण्ड अभागी सावित भएको थियो । यो संस्करणको उपाधिका लागि इंग्ल्याण्डले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

गत संस्करणको उपविजेता न्यूजिल्याण्डले पनि अहिलेसम्म विश्वकपको उपाधिको स्वाद चाख्न पाएको छैन । पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।बर्मिङ्घममा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।जेसन रोय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि १२४ रनको साझेदारी गरेपछि इंग्ल्याण्डको जितको आधार बनेको थियो । व्यक्तिगततर्फ रोयले ८५ रनको योगदान दिए भने बेयरस्टोले ३४ रन जोडे । जो रुटले अविजित ४९ रन बनाए भने ओयन मार्गानले ४५ रनको योगदान दिए ।इंग्ल्याण्डको दुई विकेट प्याट कमिन्स र मिचेल स्टार्कले लिएका थिए ।टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ रन बनाएको थियो । अष्ट्रेलियाको टप अर्डर खराब रह्यो । १४ रन बनाउँदा उसले तीन विकेट गुमायो । यस क्रममा आरोन फिन्चले खाता पनि खोल्न सकेनन् भने डेविड वार्नरले नौ रन र पिटर ह्यान्ड्सकम्बले चार रन जोडे ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथ र एलेक्स क्यारीले १०३ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ उकासेका थिए । क्यारी ४६ रन बनाएर आउट भए । त्यसको लगत्तै क्रिजमा आएका मार्कस स्टोनिसले खाता खोल्न सकेन ।ग्लेन म्याक्सवेलले २२ रन जोडे भने प्याट कमिन्सले ६ रन मात्र बनाए । मिचेल स्टार्कले २९ रन बनाए । मिचेल स्टार्क आउट हुनुपूर्व स्टिभ स्मिथ ८५ रनको योगदान दिएर आउट भए ।पहिलो विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको इंग्ल्याण्डका लागि क्रिश वक्स र अदिल रसिदले तीन-तीन विकेट लिए भने जोफ्रा आर्चरले दुई विकेट हात पारे ।विश्वकपको फाइनल आइतबार लर्ड्समा हुनेछ । विश्वकप क्रिकेट २०१९ को उपाधि न्यूजिल्याण्ड वा इंग्ल्याण्ड जसले जिते पनि नयाँ विजेता हुने पक्का भएको छ ।

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार