२०७५, साउन ०६ आइतबार

ओलीलाई दुर्लभ अवसर

२०७४, पुष १६ आइतबार |

किरण नेपाल-राष्ट्रिय राजनीति होस् या भूराजनीति– झण्डै तीन दशक लामो खुला राजनीतिक यात्रामा बेग्लै खाले विचार र अडानलाई आफ्नै खाले प्रस्तुतिबाट पेश गर्दै पृथक् व्यक्तित्व निर्माण गर्न सफल ओली अहिले नेपाली वाम आन्दोलनका सर्वसम्मत साझा नेता बन्न पुगेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएसँगै १० र २१ मंसीर २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट प्राप्त जनादेश बमोजिमको संघीय तथा प्रादेशिक सरकार निर्माणको ढोका खुलेको छ ।

अन्यथा नभएमा माघ लाग्दा नलाग्दै दुवै तहका सरकार गठन हुनेछन् । र, पटक–पटक अस्थिरता भोग्दै आएको आधुनिक नेपाली राजनीतिको करीब आठ दशक लामो यात्रामा मुलुकले पहिलो पटक संघीयताको अभ्यास गर्नेछ, स्थिरता र समृद्धिको अपेक्षासहित ।

भनिरहनु परेन, यो यात्रा प्रचण्ड बहुमतको जनादेश पाएको वाम गठबन्धन नेतृत्वको सरकारमार्फत अघि बढ्नेछ । जसको कमाण्ड नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको हातमा हुनेछ । र, नेता ओलीको प्रस्तुति र व्यवहारबाट राष्ट्रिय राजनीतिको स्वरुप मात्र नभई देशको अर्थतन्त्रदेखि सामाजिक–सामुदायिक व्यवस्थापनसम्मको दिशा निर्दिष्ट हुन्छ ।

त्यस्तै, उनको शासकीय क्षमतामा निर्भर हुनेछ, पछिल्लो समयमा मुलुकले बनाएको भूराजनीतिक उँचाइको मापन ।

झण्डै दुईदशकदेखि विथोलिएको राष्ट्रिय राजनीति संक्रमणकालीन यात्रा सकेर सामान्यकालमा प्रवेश गर्न लाग्दा पनि असहज छ । स्थिरताको आम अपेक्षा संशयमा जेलिएको छ भने समृद्धिको आकांक्षालाई अविश्वासले बेरेको छ ।

त्याग र बलिदानको चरण पार गरिसकेको राष्ट्रिय राजनीति अवसरमुखी छ । जनताका प्रतिनिधि मानिने राजनीतिक दलहरू कुनै मिसनका लागि अभियानमा नभएर राजनीतिकर्मीको ‘करिअर’ जोडिएको संस्था बनिसकेका छन् । नेता–कार्यकर्ताहरू क्रमिक ‘करिअर’ विकासलाई सफल बनाउने स्पर्धामा छन् । त्यसक्रममा नेता–कार्यकर्ता बीचमा ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामकुरा बीचको सीमारेखा मेटिंदै गएको छ ।

दशक लामो हिंसात्मक विद्रोह र त्यति नै अवधिको राजनीतिक संक्रमणकालमा विधिमाथि दण्डहीनता हावी हुन पुग्यो । इन्साफ हराउँदै जाँदा समाजको ठूलो हिस्सा दण्डहीनताबाट प्रताडित भयो । राष्ट्रिय जीवनको हर क्षेत्रमा सिन्डिकेट, माफियातन्त्र, कालाबजारी हावी छ ।

आर्थिक स्रोत नखुलेका नवधनाढ्यहरूको बेलगाम कारोबार अर्थतन्त्रको मुख्य हिस्सा बन्न पुगेको छ । खुला बजारमा व्यावसायिक प्रतिस्पर्धा छैन, मुलुकको अर्थतन्त्रलाई ‘क्रोनी क्यापिटालिज्म’ ले अँचेट्दै लगेको छ ।

यस्तो बेला स्थिरताको आम अपेक्षा र समृद्धिको आकांक्षा त बढ्छ, तर तिनको जगेर्ना आफैंमा चुनौतीपूर्ण बन्न पुग्छ । ठीक यही बेलाको आम निर्वाचनबाट एमाले अध्यक्ष ओली राष्ट्रिय जिम्मेवारी वहन गर्ने एकल नेता बन्न पुगेका छन् ।

राष्ट्रिय राजनीति होस् या भूराजनीति– झण्डै तीन दशक लामो खुला राजनीतिक यात्रामा बेग्लै खाले विचार र अडानलाई आफ्नै खाले प्रस्तुतिबाट पेश गर्दै पृथक् व्यक्तित्व निर्माण गर्न सफल ओली अहिले नेपाली वाम आन्दोलनका सर्वसम्मत साझा नेता बन्न पुगेका छन् ।

योसँगै उनी स्थिरता र समृद्धिको आम आकांक्षा पूरा गर्नैपर्ने चुनौतीको विन्दुमा पनि पुग्दैछन् । भूमिगत कम्युनिष्ट आन्दोलनबाट राजनीति शुरू गरेका ओली अहिले जुन मुकाममा छन्, त्यो एक राजनीतिकर्मीलाई विरलै प्राप्त हुने अवसर हो ।

राजनीतिमा चुनौतीलाई पनि अवसर बनाउन सक्दा पाइने सफलताको चरण हो, राजनेताको खिताब, जसको परिचय इतिहासमा सीमित हुँदैन, बरु भविष्यका पानाहरू पनि तिनकै सोच–विचारबाट प्रेरित हुन पुग्छन् ।

आम निर्वाचनमा स्थिरता र समृद्धिकेन्द्रित नेपाली आकांक्षाको परीक्षामा जबर्जस्त र योजनाबद्ध रूपमा सफल केपी ओलीका लागि मुलुकको यो दुरवस्था निश्चय पनि कठिन चुनौती हो । चुनौतीको चाङमाथि उभिएर शासन गर्नु आफैंमा असहज जिम्मेवारी हो ।

संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना, उत्तरी छिमेकीसँग सम्बन्ध विस्तार, वाम गठबन्धन निर्माण र आम निर्वाचन पछिल्ला दुई वर्षका महत्वपूर्ण परिघटना हुन् । यी सबैको सफलतामा जोडिएका नेता ओलीको परिचयलाई राजनेतामा बदल्ने विन्दु मुलुकको यही मोड हुनसक्ने देखिएको छ ।

यो मोड अध्यक्ष ओलीका लागि त्यस्तो घुम्तीका रूपमा पनि आएको छ, जसमा हुने सानो चुकले उनको राजनीतिक यात्रालाई दुर्घटनाग्रस्त मात्र पार्दैन बरु पछिल्ला वर्षहरूमा पाएका सफलताहरूलाई समेत विस्मृतिको गहिराइमा लगेर थन्क्याइदिन्छ । राजनीतिमा प्राप्त सफलता जति लोभलाग्दो हुन्छ, असफलताको परिणाम त्यति नै निर्मम ।

भूमिगतकालको ठूलो हिस्सा जेलमा व्यतीत गरेका र सार्वजनिक भएपछिको अधिकांश समय बेग्लै छवि निर्माणका लागि संघर्षरत नेताबाट राजनेतामा रूपान्तरणको अवसर पाएका केपी शर्मा ओलीको व्यक्तित्वमा संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना, उत्तरी छिमेकीसँग सम्बन्ध विस्तार, वाम गठबन्धन निर्माण र निर्वाचनमा सफलता जस्ता पछिल्ला उपलब्धिहरूले राष्ट्रिय आकांक्षा प्रतिविम्बित गरेको छ ।

पहिलोमा उनी एउटा दलका नेता देखिन्छन् भने दोस्रोमा युगको साझा सोच बोकेको राजनेता । अब पार्टीको सन्तुलित व्यवस्थापनसँगै माओवादी केन्द्रसँगको एकीकरण र शासन सञ्चालनसम्म साझ व्यक्तित्वको निरन्तरता वा विशृंखलतामा एमाले अध्यक्ष ओली नेताबाट राजनेतामा परिणत हुने वा नहुने भन्ने निर्भर हुनेछ । समकालीन नेपाली नेताहरूमध्ये ओलीले यो दुर्लभ अवसर पाएका छन् । हिमालखबर पत्रिकाबाट

93 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

दुर्घटनामा दुईजनाको मृत्यु

२०७५, साउन ०६ आइतबार

कानुनमन्त्रीले मागे क्षमा

२०७५, साउन ०६ आइतबार

राजश्व संकलनमा बृद्धि

२०७५, साउन ०६ आइतबार

१ करोड ७८ लाख बढी राजश्व संकलन

२०७५, साउन ०६ आइतबार

झापामा ६२ प्रतिशत रोपाइँ

२०७५, साउन ०६ आइतबार