२०७५, माघ ०८ मङ्गलबार

कर्मचारी आन्दोलनमा उत्रिएपछि स्थानीय तहको कामकाज आज पनि ठप्प

२०७५, पुष १० मङ्गलबार |

काठमाडौँ- विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि कामकाज ठप्प भएको छ । सरकारले स्थानीय कर्मचारीमाथि विभेद गरेको भन्दै यही पुस १ गतेबाट नै स्थानीय तहका कर्मचारी आन्दोलनरत छन् ।हातमा कालोपट्टी बाँधेर आन्दोलनमा लागेका कर्मचारीले आज दशौँ दिन पनि काममा नफर्केपछि नागरिक मर्कामा परेका हुन् ।गत मङ्सिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश, २०७५ मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सबै कामप्रति समान व्यवहार नभएको भन्दै बाध्य भएर आन्दोलनमा होमिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका परिसरमा आन्दोलन गरिरहेका कर्मचारीले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म कलम बन्द गरिराख्ने बताउँछन् । श्रेष्ठका अनुसार आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राखी कार्यालय नफर्किने बताउनुभयो ।देशभरिका र कामपाका ३२ वटै वडाका कर्मचारी पनि आफ्नो कलम बन्द गरेर कालोपट्टी बाँधी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सर्वोच्च अदालतले २०७४ पुस २१ गते गरेको फैसलाअनुरुप व्यवस्था हुनुपर्ने, साविक स्थानीय निकायका श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिको साथै सबै तहको बढुवा र वृत्ति विकास तत्काल लागू गर्नुपर्ने माग उनीहरुको रहेको छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७(४) बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्ने गरिनुपर्ने माग पनि उनीहरुको रहेको छ । काठमाडौँ उपत्यकालगायतका स्थानीय तहमा फोहरमैला तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीलाई पेशागत सुरक्षाको प्रत्याभूति सोही स्थानमानै हुनुपर्ने उहाँहरुको माग रहेको छ ।

हाल देशभरमा गरी १८ हजार कर्मचारी स्थानीय तहमा कार्यरत रहेका छन् । यी सबै कर्मचारी अहिले काम छोडी आन्दोलनमा लागेकाले सर्वसाधारण मर्कामा परेका छन् । आन्दोलनकै क्रममा आज स्थानीय तहका कर्मचारीले राष्ट्रियसभा गृहबाट आफ्ना मागसहितको नारा लगाउँदै काठमाडौँ महानगरपािलकाको प्रमुख र उपप्रमुखको कार्यालय रहेको स्थान हरिभवन पुगेका थिए ।

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार