२०७५, मङि्सर ०२ आइतबार

किसानलाई धान भित्र्याउने चटारो

२०७५, कार्तिक १० शनिबार |

धनगढी- कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ ।जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकहरूले बताएका छन् । किसानको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको धान बेचेरै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका हुन् । “दशैँमा खर्च नभएर समस्या भयो, स्थानीय कृषक केशव पाण्डे्यले भन्नुभयो, तिहार नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै प¥यो ।”सुदूरपश्चिम प्रदेशका कैलालीलगायत जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो । धान काट्नु अघि नयाँ धानको बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने परम्परा पनि सुदूरपश्चिम प्रदेशमा छ ।

धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनाका साथै परिश्रमसमेत कम लाग्न थालेको किसान राजाराम रानाले बताउनुभयो । “खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेजस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्र्याक्टर, धान काट्ने र झार्ने काममा आधुनिक उपकरणको प्रयोग बढ्दा निकै सहज भएको छ, रानाले भन्नुभयो, समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”जिल्लाको दक्षिणी क्षेत्रका भजनी, टीकापुर, नारायणपुर ,धनसिंपुर, जानकीनगर, जोशीपुर, बसौटी, पवेरा, हसुलियालगायत क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । कृषक आफूलाई आवश्यक पर्ने धान घरमा भण्डार गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्छन् । धान उत्पादनका लागि उर्बर जग्गा रहेको कैलाली जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । प्रदेशका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको छ ।

53 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस