२०७६, जेठ १० शुक्रबार

जनगणना विश्वासिलो र गुणस्तरीय बनाउन सुझाव

२०७५, माघ ११ शुक्रबार |

रुपन्देही-बिश्वासिलो र गुणस्तरीय जनगणनाका लागि गणनाको विधि र प्रक्रियालाई प्रभावकारी बनाउन प्रदेश नं ५ का सरोकारवालाले सुझाव दिएका छन् । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय कपिलवस्तुले आज बुटवलमा आयोजना गरेको प्रदेश नं ५ स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले आगामी जनगणनाले गरिबी, बेरोजगारी र मानव विकासको चित्रण गर्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले २०७८ सालको जनगणना मुलुकको समृद्धिको यात्रालाई सघाउ पुग्ने खालको हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तीर्थराज ढकालले जनगणनालाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठले जनप्रतिनिधलाई परिचालन गरेर नागरिकको यथार्थ चित्रण हुने खालको जनगणना गर्न सकिने सुझाव दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले नागरिकको आर्थिक, सामाजिक अवस्थाबारे आधिकारीक जानकारी लिने÷दिने माध्यम जनगणना प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले देश सङ्घीय संरचनामा गएपछि पहिलो पटक जनगणना हुन लागेकाले विशेष सावधानी अपनाउन सुझाव दिए । विसं २०७८ को जनगणना गर्नका लागि देशभर करीब ४० हजार कर्मचारी परिचालन गर्ने तयारी गरिएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।

88 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस