२०७५, चैत ०५ मङ्गलबार

नेपालमा कृषिको सम्भावना

२०७५, भदौ ३० शनिबार |

भौगोलिक रूपमा सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिमा नेपाल धनी मुलुक मानिन्छ । उचित प्रकारको हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचूर सम्भावना छ । तराईका फाँटमा धान, मकै, गहुँ उखु, केरा खेती फस्टाउन सक्छ । तराईमा मलिलो भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । सिँचाइलाई कम लागतमा खेतका गरागरामा पु¥याउन सकिन्छ । पहाडी तथा तराई क्षेत्रमा ठूला तथा सम्भावना बोकेका नदीका कारण कृषिलाई सिञ्चित गर्न र विद्युतीय माध्यमबाट खेती गर्न सकिने सम्भावना छ । त्यसैगरी हिमाली क्षेत्रमा जडीबुटीको उत्पादनले देशको आर्थिक स्तर सहजै माथि उस्कने अड्कल नभएका होइनन् । मुलुकको दिगो आर्थिक विकासका साथै बलियो ग्रामीण अर्थतन्त्रलाई उपलब्धिमूलक बनाउन सकियो भने देशको गरिबी निवारणमा टेवा पु¥याउन गाह्रो छैन ।
कुनै समयमा विश्व बजारमा अत्यधिक बलिया र आर्थिक उपार्जनको रूपमा मानिएका आर्थिक क्षेत्रहरू समेत समयक्रमसँगै धराशायी बन्दै गएको औद्योगिक पृष्ठभूमिमा कृषि यस्तो क्षेत्र हो, जो जीवन रहेसम्म रहन्छ । अर्थात् जबसम्म कृषि छ, तबसम्म जीवन रहन्छ । उचित प्रविधिको प्रयोग गर्न सकियो भने कृषिले औद्योगिकलाई मात खुवाउन सक्छ । जसको उदाहरणको रूपमा हाम्रै छिमेकी देश भारतको पञ्जाव प्रान्त र कस्मिर लगायत क्षेत्रले कृषिमा गरेका विकासलाई लिन सकिन्छ । त्यस्तै कृषि विकासको गतिमा उल्लेख्य फड्को मारेका चीन, कोरिया, नजिकको छिमेकी बङ्लादेशजस्ता देशले आधुनिक प्रविधिको प्रयोगमा बढी जोड दिने गरेका छन् । यस्ता पाठ सिकेर नेपालले पनि बेलैमा कृषिमा लगानी
बढाउन सक्नुपर्छ ।
वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर विकासको दिगो लक्ष्यमा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्तव्यमा दिगो विकास र समृद्ध नेपालका लागि कृषिमा आधुनिकीकरण हुनुपर्नेमा सधैँ जोड दिनुभएको हुन्छ । सरकारले नेपालले कृषिमा फड्को मार्न सक्ने बताइरहँदा अन्ततोगत्वा देशले कृषि उत्पादनमा नयाँ विधि प्रणालीका साथ अघि बढ्नुको विकल्प नहुन सक्छ । कृषि र किसानलाई प्रोत्साहन र सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउन सकेमात्र कृषि व्यवसायले गति लिन सक्छ तर वर्तमानमा हाम्रो कृषि क्षेत्रमा देखिएको, भोगिरहेको प्रमुख समस्या भनेकै बजारसम्मको पहुँच हो भन्दा अतिशयोक्ति नहोला । किसानको बजारसम्म पहुँच र प्रभाव पुग्न सकेको छैन । साथै उत्पादन गरिएको वस्तुको भण्डारणमा उचित व्यवस्थासमेत नहुने भएकोले किसान सस्तो मोलमा आफ्ना उत्पादनहरू बेच्न बाध्य हुने गरेका छन् । धूर्त बिचौलियाको शोषणमा किसान परेका छन् । गरिब किसानको भण्डारको अभावको फाइदा धूर्त बिचौलियाले उठाइरहेका छन् । किसान आफ्ना उत्पादन मिहिनेतको मोलसमेत नउठ्ने मूल्यमा बेच्न बाध्य भइरहेका हुन्छन् तर बिचौलिया रातारात मालामाल भइरहेका हुन्छन् । यस्तो बेथितिको अन्त्य नभएसम्म कृषकको उत्थान, प्रगति, गरिबी निवारण र कृषिमा निर्भरताका हाम्रो दिवा सपनासिवाय अरू हुनसक्दैन । यस्तो प्रवृत्तिले साना किसानको साथसाथै आम उपभोक्तासमेत मूल्यवृद्धिको चपेटामा पर्न बाध्य छन् । यसका लागि राज्यले किसानको उत्पादनमा सुरक्षा र लगानीमा ग्यारेन्टीको भावना विकास गर्न सक्नुपर्छ ।
नेपालमा कृषि क्षेत्रमा माथि उकास्न आधुनिक किसिमको प्रविधि भिœयाउन मात्र सकियो भने हामी आर्थिक समृद्धितिर अघि बढ्छौँ । देशको अर्थतन्त्र उकालो लाग्नेमा द्विविधा छैन । कृषि पेशालाई हरेक नेपालीको आशाको केन्द्रको रूपमा लिँदै आए पनि यसले आशातित प्रतिफल दिन नसक्नुको पछाडि धेरै कारण छन् । कृषिप्रधान देश भए पनि कृषि व्यवसायलाई उचित अवसर र मूल्याङ्कन नगरिनु यसको प्रमुख समस्या हो । अझै पनि कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने परिपाटी छ । कृषि पेशालाई हालसम्म सम्मानित पेशा बनाउन सकिएको छैन । हामी नेपालीलाई विदेशीको गुलामी गर्न मञ्जुर छ, तर स्वदेशमै बसी कृषिकर्म गर्न स्वीकार्य छैन । विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुस गर्छौं । कृषि पेशालाई प्राथमिकता नदिनु, कृषि कर्मलाई सम्मान नगरिनु नै हाम्रो प्रमुख दोष हो । त्यसैगरी हाम्रो कृषिका लागि प्राकृतिक वातावरण जति नै राम्रो स्तरीय भए पनि पूर्वाधारको कमीले कृषिको विकास हुन नसकेको तथ्य यथार्थ हो ।
नेपालको कृषि व्यवसाय हालसम्म पनि मौसमी खेतीमा भर परिरहेको अवस्था छ । समय सुहाउँदो विकासमा हामी लम्कन सकेका छैनौँ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन सकिन्छ । हामी अझै परम्परागत कृषि कर्ममा नै छाँै । जसले उच्चतम उत्पादन दिन पनि सक्दैन र लागत पनि बढी लाग्छ । हाम्रो देशको कृषि प्रणाली, जति नै ठूला गफ गरे पनि निर्वाहमुखीबाट माथि उठ्न सकेको देखिँदैन । अझ हरेक कुरामा विदेशीको भर पर्नुपर्ने बाध्यता छ । जसको समाधानतिर हामी जानेर वा नजानेर लम्कन सकेका छैनौँ । नेपाली मात्रको तरकारी गुन्द्रुकमा पनि हामी आत्मनिर्भर हुन नसकेको अवस्था छ । गुन्द्रुक पनि हामी छिमेकी राष्ट्र चीनबाट आयात गर्छौं ।
किसानलाई कृषि औजार, उपकरण, बीउविजन, मलखाद खरिददेखि लिएर युवा लक्ष्यित कार्यक्रमअन्तर्गत विभिन्न व्यवसाय सञ्चालन र प्रवद्र्धनका लागि रकम प्रदान गरेर कृषिलाई आत्मनिर्भर बनाउन सक्नुपर्छ । उचित मात्रा नमिलाई प्रयोग भएको रासायनिक मलको कारणले माटोको खस्किँदो गुणस्तर, बदलिँदो मौसमचक्र, घट्दो खेतीयोग्य जमिन, भएको जमिन पनि घडेरी प्लटिङको कारणले अनुत्पादक हुन पुगेको तितो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । खेतीयोग्य जमिन दिन प्रतिदिन मासिँदै जानुले समस्या सिर्जना गरेको पाइन्छ । ‘ग्लोबल वार्मिङ’ जस्ता कारणबाट यही स्थितिको उत्पादकत्व वृद्धि पनि ठूलो चुनौतीको रूपमा रहने सम्भावना बढ्दो छ । यस्ता प्रकारका समस्यालाई राज्य स्तरबाट ध्यान दिनु अनिवार्य छ ।
यसर्थ नेपालको हावापानी सुहाउँदो कृषि व्यवसायको थालनी गर्नुपर्ने, किसानलाई आवश्यक तालिम, सहुलियतपूर्ण ऋण र उत्प्रेरणा पुग्नेखालको कार्यक्रम दिन सक्नुपर्ने आजको आवश्यकता हो । उत्पादित वस्तुको उचित मूल्य समायोजन गरी राष्ट्रिय रूपमा बिक्रीवितरण र अन्तर्राष्ट्रिय स्तरसम्मको उत्पादनमा जोड दिँदै कृषि व्यवसायीलाई प्रोत्साहन, क्षतिपूर्तिको व्यवस्थामा सरकारले ध्यान दिने हो भने नेपालको भावी कृषि नीति र व्यवसायीले उपलब्धि हासिल गर्न सक्छन् ।गोरखापत्रबाट

168 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार