२०७६, जेठ १० शुक्रबार

बाँदर आतङ्कले कृषक हैरानीमा

२०७५, फागुन २१ मङ्गलबार |

बेझाड- पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताउनुभयो । उहाँले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) एक हजार दाना आलु लगाउनुभएको थियो । “नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरीद गरेर आलु लगाएको, खन्न नपाउँदै बाँदरले खेतबाटै खाएर सखापै पा¥यो”, बस्यालले भन्नुभयो । बस्यालले प्रतिदाना रु १५ मा बीउ खरीद गरेर नयाँ प्रजातिको आलु लगाउनुभएको थियो ।

त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको आलु बाँदरले खेतमा पसेर नष्ट पारेको छ । उहाँको करीब एक रोपनी क्षेत्रफलमा लगाएको आलु बाँदरले पूरै खाएर नष्ट पारेको बताउनुभयो । करीब २०० को समूहमा बाँदर गाउँमा एकै पटक पसेर अन्न, तरकारी बाली सबै नष्ट पार्न थालेछि यहाँका कृषक चिन्तित बनेका छन् । घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्न पनि खाइदिने गरेको छ । समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको नेत्र अर्यालले बताउनुभयो । “घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ”, अर्यालले भन्नुभयो ।

खेतमा लगाइएका आलु, बन्दा, काउली, गहुँलगायतका बालीनाली बाँदरले खाएर नष्ट पार्न थालेपछि यहाँका कृषक चिन्तामा छन् । हुँगीको विशेषगरी च्याङलिङ नौगाउँका कृषक बढी बाँदर आतङ्कको मारमा परेका छन् । यहाँका कृषकको दिनचर्या हिजोआज बाँदरको रेखदेख गर्दैमा बित्ने गरेको छ । यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ । यस वर्ष बाँदर आतङ्कले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ ।

बाँदर आङ्तक नियन्त्रणका सम्बन्धमा गाउँपालिकामा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ । “बाँदर छोपेर (समातेर) मात्र भएन, यसको दिगो व्यवस्थापन कसरी गर्न सकिएला भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो । बाँदर छोपेर राष्ट्रिय निकुञ्जमा नै पु¥याउने विषयमा सरोकारवाला निकाय, व्यक्तिसँग सल्लाह भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । यस क्षेत्रमा विगत तीन वर्षयता बाँदर आतङ्क फैलिएको छ । रामपुरका विभिन्न स्थानमा पनि बाँदर आतङ्कले सताउन थालेको कृषक बताउँछन् । रामपुर नगरपालिकाका गाडाँकोट, दर्छा, बाहुनडाँडा, कटहरबारी, बिक्रम्दी, खालीवनलगायतका क्षेत्रमा बाँदरले वर्षेनी सताउने गरेको छ । बाँदर नियन्त्रणका सम्बन्धमा सम्बन्धित निकायले चासो नदिएको रामपुरका कृषकको गुनासो छ ।

76 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस