२०७५, मङि्सर ०२ आइतबार

बिम्स्टेक सम्मेलनले पारित गरेकाे १८ बुँदे घोषणापत्रमा के छ थाहा पाइ राखाैँ

२०७५, भदौ १५ शुक्रबार |

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्राष्ट्रिय अपराध, अपराध तथा विपद् व्यवस्थपन, जलवायु परिवर्तन, ऊर्जा, प्रविधि, कृषि, मत्स्यपालन र जनस्वास्थ्यका महत्वपूर्ण विषयमा सम्मेलनले निर्णय गरेको छ ।

सम्मेलनले राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सदस्य देशका नागरिकबीचको प्रत्यक्ष सम्पर्क स्थापना, सांस्कृतिक सहायता प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास तथा पर्वतीय र समुद्री अर्थतन्त्रको उन्नयनका निम्ति ठोस निर्णय गर्दै जल, स्थल र नभमार्गबाट सदस्य देशबीच सम्बन्ध र सम्पर्क विस्तार जोड दिएको छ । ‘शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख बङ्गालको खाडी क्षेत्र’ नाराका साथ भएको सम्मेलनले सदस्य देशका तटीय क्षेत्रमा पानीजहाज तथा मोटर गाडी सञ्चालनसम्बन्धी सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यातायात र सम्पर्क विस्तारसम्बन्धी गुरुयोजनालाई शीघ्र अनुमोदन गर्दै बिम्स्टेक यातायात सम्पर्क विस्तार कार्यदललाई त्यसको कार्यान्वयनका रुपरेखा निर्धारण गर्न निर्देशन दिएको छ । सूचना तथा सञ्चार र प्रविधिसम्बन्धी कार्यदल गठनको निर्णय गर्दै शिखर सम्मेलनले बिम्स्टेक क्षेत्रका सबै नागरिकले कमभन्दा कम महसुल तिरेर द्रुत गतिको इन्टरनेट सेवा प्राप्त गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यसैगरी व्यापार र लगानीबाटै बिम्स्टेक क्षेत्र समृद्धिको मार्गमा उन्मुख हुने वास्ताविकतालाई मनन गर्दै सम्मेलनले स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौता चाँडो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिम्स्टेक नेतृत्वले वस्तुको व्यापार र भन्सार सहयोगसम्बन्धी सम्झौताका निम्ति हालसम्म भएका प्रगतिप्रति सन्तोष जनाउँदै बिम्स्टेक व्यापार मञ्च र बिम्स्टेक आर्थिक मञ्चलाई पुनर्जीवन दिनेमा सहमति जनाएको छ । शीर्ष नेतृत्व बिम्स्टेक प्रवेशाज्ञासम्बन्धी विषय निरुपण गर्न विज्ञ समूह खटाउने र त्यससम्बन्धी रुपरेखालाई अन्तिम रुप दिनेमा सहमत भएको छ ।

आपराधिक मामिलामा सदस्य देशबीच आपसी कानूनी सहायता आदानप्रदानसम्बन्धी सम्झौता अनुमोदन, अन्तर्राष्ट्रिय आतङ्कवाद, सीमापार सङ्गठित अपराध र लागुऔषधको अवैध ओसारपसारसम्बन्धी बिम्स्टेक अभिसन्धिलाई अधिकांश सदस्य राष्ट्रले अनुमोदन गरेकामा सन्तोष प्रकट गर्दै शिखर बैठकले कानून कार्यान्वयन गर्ने समूह र सुरक्षा निकायबीच गोप्य सूचना आदानप्रदान, अन्तर्राष्ट्रिय अपराध र प्रतिआतङ्कवादविरुद्ध सुदृढ सहायता हुनुपर्नेमा जोड दिएको छ । चौथो शिखर सम्मेलनले प्राकृतिक विपत्तिको सामना तथा त्यसको पूर्वतयारीमा सुधारका निम्ति कार्ययोजना तयार गर्न अन्तरसरकारी विज्ञ समूह गठनको निर्णय गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई पृथक ढङ्गले कार्यान्वयन गर्ने, विश्व तापमान वृद्धि, हिमाली तथा पर्वतीय पर्यावरणमा जलवायु परिवर्तनका कारण परेको नकारात्मक असरप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै शीर्ष नेतृत्वले हावापानी परिवर्तनका चुनौती सामूहिक रुपमा सामना गर्ने प्रयोजनका निम्ति कार्यायोजना तर्जुमा गर्न अन्तरसरकारी विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । शिखर सम्मेलनले ऊर्जा सहायताका निम्ति विस्तृत कार्ययोजना तयार गर्न सहमति जनाउँदै जलविद्युत् तथा स्वच्छ ऊर्जाका स्रोतमा सहायता अभिवृद्धि गर्न अन्तरसरकारी विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ ।

सम्मेलनका क्रममा ‘बिम्स्टेक ग्रीड इन्टरकनेक्सन’सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकामा त्यसको स्वागत गर्दै शीर्ष नेतृत्वले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग बढाउन बिम्स्टेक ऊर्जा केन्द्रलाई शीघ्र सञ्चालन गर्नुपर्ने औँल्याएको छ ।

सदस्य राष्ट्रबीच लघु, साना तथा मझौला उद्यमसहित प्रविधिका क्षेत्रमा सहयोग बढाउन सहमति प्रकट गर्दै सम्मेलनले श्रीलङ्कामा बिम्स्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापनाका लागि सम्झौताको चरणमा पुगेको प्रगतिको स्वागत गरेको छ । बिम्स्टेक क्षेत्रमा प्रविधिको द्रुत विकासका लागि मानव संसाधन विकास र शिक्षामा सङ्गठन अधिक केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।

बालीनाली, पशुपालन, फलफूल खेती, कृषियन्त्र तथा बाली भण्डारण व्यवस्थापनलगायत कृषि क्षेत्रमा सहकार्य र साझेदारी सघन तुल्याउने निर्णय शिखर बैठकले गर्नाका साथै खाद्य तथा पोषण सुरक्षाका निम्ति आधिकारिक निकायलाई निर्देशन दिने तथा परम्परागत खेतीपातीसम्बन्धी ज्ञानको संरक्षणमा सहमित जनाएको छ । खाद्य सुरक्षा सुनिश्चित गर्न मत्स्यपालनमा सहायता बढाउने र भूपरिवेष्टित सदस्यलाई त्यसबाट फाइदा पु¥याउन सम्बन्धित देशका राष्ट्रिय निकायलाई जिम्मेवारी सुम्पिन शिखर बैठकमा ऐक्यबद्धता जुटेको छ ।

असङ्क्रामक रोग तथा एचआइभी एड्स, औलो, डेङ्गी, क्षयरोग, भाइरल इन्फ्युएन्जालगायत अन्तरदेशीय जनस्वास्थ्यका चुनौतीविरुद्ध लड्न शिखर बैठकले सहमति जनाएको छ ।

विभिन्न तहमा सदस्य राष्ट्रका नागरिकबीचको सम्पर्क र सम्बन्ध प्रवद्र्धन, बिम्स्टेक विद्वत् वर्ग नीति सञ्जालको गतिविधिलाई दृष्टिगत गरी उक्त सञ्जालको कार्यविधि टुङ्ग्याउन सम्बन्धित निकायलाई निर्देशन दिँदै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले बिम्स्टेक देशका सांसद, विश्वविद्यालय, प्राज्ञ, अनुसन्धान प्रतिष्ठान, सांस्कृतिक सङ्गठन, सञ्चार समुदायसँग सम्बन्ध विस्तार गर्ने उपुयक्त मञ्च गठनमा सहमति जनाएका छन् ।

बौद्धधर्मलाई बिम्स्टेक क्षेत्र जोड्ने महत्वपूर्ण सूत्रका रुपमा स्वीकार्दै बैठकले ‘बौद्ध परिपथ’ निर्माणको प्रतिबद्धता गर्नाका साथै नियमित रुपमा बिम्स्टेक देशका संस्कृति मन्त्रीको बैठक र बिम्स्टेक सांस्कृतिक मेला आयोजना गर्न सहमति प्रकट गरेको छ । बिम्स्टेक मुलुकभित्र पर्यटन प्रवद्र्धनका निम्ति ठोस पाइला चाल्न तथा त्यसनिम्ति सम्बद्ध निकायलाई पर्यटन रणनीति तर्जुमा गर्न पर्यटकको सुरक्षा सुनिश्चित गर्न तथा सहज यातायात सम्पर्कमा जोड दिइएको छ । बौद्ध पर्यटन परिपथ, मन्दिर पर्यटन परिपथ, प्राचीन शहर परिभ्रमण मार्ग, पर्यापर्यटन र स्वास्थ्योपचार पर्यटनप्रति प्रतिबद्धता व्यक्त गर्दै शीर्ष नेतृत्वले सन् २०२० मा नेपालमा आयोजना हुने बिम्स्टेक पर्यटन सम्मेलनको स्वागत गरेको छ ।

चौथो शिखर सम्मेलनले बिम्स्टेकको सचिवालय, बिम्स्टेक केन्द्र र अन्य निकायसम्बन्धी प्रशासनिक एवं वित्तीय विषयलाई निरुपण गर्न बिम्स्टेक स्थायी कार्यसमिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी सङ्गठनको बडापत्रको मस्यौदा तयारी, सङ्गठनको सहयोगका प्राथमिकताका क्षेत्र र दीर्घकालीन दृष्टिकोण प्रस्तुतिको निर्णय गरेको छ । स्थायी कार्यसमितिलाई बडापत्रको मस्यौदा पाँचौँ शिखर सम्मेलनमा प्रस्तुत गर्ने अख्तियारी दिइएको छ जसलाई सोही सम्मेलनले अनुमोदन गर्नेछ ।

– शरच्चन्द्र भण्डारी/रासस

260 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस