२०७५, मङि्सर ०२ आइतबार

व्यावसायिक मौरीपालनबाट आम्दानी

२०७५, कार्तिक २२ बिहिबार |

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आउनुभएको छ । मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आउनुभएको छ । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको कार्कीले बताउनुभयो ।

गत वर्ष मात्रै मह बिक्री गरेर रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो । चालू आवको हालसम्म रु ५० हजारभन्दा बढीको मह बिक्री भएको उहाँले बताउनुभयो ।

“महमा गुणस्तर दिन खोजेका छौँ”, उहाँले भन्नुभयो, “महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।” महको माग अत्यधिक भएपनि मागअनुसार मह पु¥याउन नसकिएको कार्कीको भनाइ छ ।

चार वर्षदेखि मौरीपालन गर्दै आउनुभएका कार्कीले नगरपालिका कार्यालयबाट रु चार लाख ५० हजार अनुदान पाएपछि उत्साहित हुनुभएको हो । अनुदान रकमबाट आधुनिक घार र उपकरण खरीद गरिएको बताइएको छ । कार्कीले भन्नुभयो, “मौरीपालनलाई विगतमा लगानी नहुँदा समस्या थियो, अनुदान रकम पाएपछि आधुनिक तरिकाले मौरीपालन गरी उत्पादनसमेत बढी लिन सकिएको छ ।” विगतको तुलनामा मौरीपालनको आधुनिक तरिका सिकेपछि उत्पादन बढ्दै गएको उहाँको भनाइ छ । कार्कीसँग ६० मौरीका घार छन् ।

कार्की कुस्तीका राष्ट्रिय खेलाडीसमेत हुन् । मौरीले मह सङ्कलन गर्न सहज बनाउन चिउरी लगायतका बोटबिरुवा खेर गएको जग्गामा रोपेर प्रयोगमा ल्याउने उहाँको योजना छ । मौरीपालनसँगै उहाँले डेरीको व्यवसायसमेत शुरु गर्नुभएको छ ।

31 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस