२०७६, बैशाख १० मङ्गलबार

साना कामबाट ठूलो समृद्धि

२०७५, चैत २९ शुक्रबार |

आमनागरिक आ–आफ्नो क्षेत्रबाट मुलुकको समृद्धिका लागि मन, वचन र कर्मले नलागी धर छैन । स–साना पहलबाट मुलुकमा ठूला–ठूला उद्योग, लगानी, व्यापार भई समृद्धि भित्रिन्छ । मुख्य गरी तीन विषयलाई समृद्धिको माध्यमका रूपमा लिन सकिन्छ ।
बिउ–बिजन : हाइब्रिड
नेपाल कृषिप्रधान देश हो । हामी घर, छिमेक र स्थानीय बजारमा जे जस्तो बिउ वा बिरुवा उपलब्ध छ, सोही प्रयोग गर्छौं । हामीसँग उपलब्ध बिउअनुसार धान र गहुँको एउटा बालामा करिब पाँच ग्राम फल्छ । हाइब्रिड (वर्णशङ्कर) मा गएर धान र गहुँ लगाएमा एउटै बालामा करिब ५० ग्राम धान र गहुँ फलाउन सक्छौँ । यस प्रक्रियाअनुसार हालको बयर हामीले देखेको कागतीजत्रो फल्ने हुन्छ । हालको कागती हामीले देखेको सुन्तलाजत्रो हुनेछ । हाल हामीले देखेको सुन्तला बजारमा बिक्री भइरहेको फर्सीको कैँडाजत्रो हुने छ । फर्सीको कैँडा एउटा वयस्क राँगाको टाउकोसरहको हुने छ । एउटा स्कुस किन्न र जोख्न दुवै हातको प्रयोग गर्नुपर्नेछ । यसरी हामीले बिउ–बिजनमै ‘हस्तक्षेप’ नगरी समृद्धि सम्भव छैन ।
यसका लागि सबै ७५३ वटा पालिकाले प्रदेश र सङ्घ सरकारको सहकार्यमा टोल टोलमा कृषि बिउ–बिजन केन्द्र र नर्सरी खडा गर्नुपर्छ । आफ्नै बिउ–बिजन प्रयोग गर्न टोलमा खुलेको कृषि सहजीकरण केन्द्रको अनुमति लिनुपर्नेछ । सो केन्द्रले माटो परीक्षण गर्नेछ । कानुन निर्माण गरी समृद्धिलाई निर्देश गरिने छ । यी सबै काम लोकतान्त्रिक प्रणालीअनुरूप आम किसानलाई बुझाएर, उनीहरूको मन जितेर, उनीहरूकै सहभागिता, स्वामित्वमा सञ्चालन गरिनेछ ।
हाइब्रिडमा जान स्थानीय सरकारले केही वर्ष सम्भव भएसम्म पूर्ण अनुदानको व्यवस्था गर्नुपर्छ । किसानलाई प्राविधिक परामर्श निःशुल्क दिनुपर्छ । रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्छ । रासायनिक विषादीको सट्टा प्राङ्गारिक विषादीको उपयोगमा किसानलाई उत्प्रेरित गर्नुपर्छ । आईपीएम विधि र किसान पाठशाला स्थापना गर्नुपर्छ । कृषि प्रयोगशाला र कोल्डस्टोर (चिस्यान केन्द्र) बनाउनुपर्छ । कृषि उत्पादन राख्ने गोदाम र बिक्री स्थल बन्ने छ । अग्र्यानिक खेतीमा जोड दिइने छ । यसरी नेपालको आर्थिक समृद्धिको प्रस्थान बिन्दु बिउ–बिजनको आधुनिकीकरणबाट आरम्भ गर्नुपर्छ ।
पर्यटनमा साहसिक खेल
नेपाल विश्वकै घुमन्तेले मन पराइएको देश हो । तथापि हामीले कैयौँ वर्षदेखिको प्रयास गरे पनि बर्सेनि दस लाखभन्दा बढी पर्यटक भिœयाउन सकेका छैनौँ । यसर्थ हाल विश्वव्यापी रूपमा चर्चामा रहेका नेपालका पाँचवटा साहसिक खेललाई आधार मानी पर्यटक प्रवद्र्धनको प्रयास गर्दा रोजगारको अवसर बढ्ने, विदेशी मुद्रा आर्जन हुने र नेपालको नाम विश्वमा फैलिने देखिन्छ ।
त्रिशूली र भोटेकोसीको ¥याफ्टिङ विश्वभर चर्चामा छ । हाल कर्णालीलगायतमा यो खेल फैलिएको छ । यसमा तालिम प्राप्त युवाको जमात तयार गर्नुपर्छ । आधुनिक र सुविधायुक्त डुङ्गाहरूको व्यवस्था गर्नुपर्छ । अत्याधुनिक लाइफ ज्याकेट र होमस्टेको विकास गर्नुपर्छ । सुरक्षा, साहस र मनोरञ्जन तीनै कुराको संयोजन गरी नेपालमा रहेका ११ हजार नदीमध्ये ¥याफ्टिङका लागि सम्भाव्य नदी पहिचान गर्ने र आवश्यकतानुसार केही स्थानमा नदीको ढुङ्गा मिलाउने, दह व्यवस्थापन गर्नेलगायतको काम गर्नुपर्छ ।
पोखरा आसपासको डाँडाबाट आरम्भ भएको प्याराग्लाइडिङले पनि विश्वमा नेपाल चम्किएको छ । यो खेल हाल मुलुकका विभिन्न भागमा भइरहेको छ । यसको निश्चित मापदण्ड तोकिनुपर्छ । सुरक्षाको राम्रो प्रबन्ध हुनुपर्छ । थोराङपासलगायत पदयात्रा विश्वमै विख्यात छ । ठूला, लामा र विश्वमा चर्चित नेपालमा आठवटा पदयात्राका प्याकेज छन् । कुनै डाँडा पार गरेपछि डाँडैडाँडा देखिन्छ । कुनै डाँडा पार गरेपछि मानिसको नाकै ठोक्किने गरी हिमाल देखापर्छ । यस्तो अद्भूत पदयात्राको स्वाद विश्वका युवा पर्यटकलाई दिन नेपालले अतिरिक्त प्रयास गर्नुपर्छ ।
सिन्धुपाल्चोकमा रहेको बन्जी जम्पिङ नेपाललाई चिनाउने अर्को साहसिक खेल हो । अहिले यस खेलका अन्य स्वरूपहरू पनि प्रकट भएका छन् । नेपालमा सिन्धुपाल्चोकमा रहेझैँ खोँचहरू करिब एक हजार २०० को सङ्ख्यामा रहेको प्रारम्भिक अनुमान छ । यस खेलसँगै पर्यटन प्रवद्र्धन गर्दा विश्वभरिका युवा पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिन्छ ।
नेपाल विश्वभरिका पर्वतारोहीको राजधानी पनि हो । उनीहरूका लागि नेपाल जीवनको मुटुसरह रहेको छ । विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमशिखरमध्ये नेपालमा नौवटा छन् । नेपालका सेता हिमाल ‘ह्वाइट डलर’ हुन् । यहाँ हिमाल आरोहणसँगै अनेकौँ पर्यटकीय साहसिक खेलको विकास गर्न सकिन्छ । यस्मा ‘रक क्लाइम्बिङ’ लगायतको खेल नेपालमा विकास भइरहेको छ ।
प्रत्येक आठ हजार मिटर अग्ला हिमालको बेसक्याम्पसम्म पर्यटक पु¥याउन कहीँ हेलिकप्टरको सटल सर्भिस सञ्चालन गर्न सकिन्छ भने कतै केबलकार जडान गर्न सकिन्छ । माउन्टेन फ्लाइटमा हेलिकप्टरको प्रयोग गरी यसलाई थप रोमाञ्चकारी तुल्याउन सकिन्छ ।
युवालाई स्वदेशी स्वरोजगार
खाद्यान्न, हरियो तरकारी, फलफूल, माछा–मासु र दुग्धजन्य पदार्थजस्ता दैनिक जीवनमा आवश्यक पर्ने अत्यावश्यक वस्तुमा मुलुक आत्मनिर्भर हुनुपर्छ । यसका लागि सबै युवालाई मुलुकभित्र रोजगार दिनुपर्छ । लाखौँ युवा पाखुरीलाई अरब पठाएर समृद्धि प्राप्त हुँदैन ।
हामीले माध्यमिक विद्यालय र कलेजको पढाइमा प्राविधिक र व्यावसायिक शिक्षालाई अनिवार्य गर्नुपर्छ । यसबाट मावि र कलेजको पढाइ सकिएपछि प्रत्येक युवा सीपसहित स्वरोजगारयुक्त भई आत्मसम्मानपूर्वक जिउन सक्छ । प्रायः सबै सेवा व्यवसाय मुनाफायोग्य देखिएका छन् । तीनमहिने तालिमपछि कपाल काट्ने सैलुन खोल्ने युवाले मासिक तीस हजार कमाउन सक्छ । करिब छ महिनाको तालिमपछि ब्युटीपार्लर खोल्ने युवतीले मासिक आम्दानी ५० हजार माथि हात पार्छन् । करिब एक वर्षको सिकर्मी, डकर्मी, इलेक्ट्रीसियन र प्लम्बरको तालिम लिने युवा सबओभरसियरसरह हुने र मासिक करिब ७५ हजार आम्दानी गर्न सक्षम हुने छ । करिब तीन लाखको पुँजीमा जाम, जेलीको घरेलु उद्योग सञ्चालन हुन सक्छ भने दुई लाखको पुँजीमा अदुवाको सुठो र पाउडर तयार गरी कुटिर उद्योग सञ्चालन गर्न सकिन्छ । यसैगरी पाँच लाखको पुँजीमा अचार उद्योग वा पाउँ उद्योग सञ्चालन गरी मासिक ५० हजारदेखि ७५ हजार रुपियाँसम्म आर्जन गर्न सकिन्छ । यी सबै स्वरोजगारका कार्यक्रममा स्थानीय तह वा प्रदेश सरकारले बिउ पुँजी उपलब्ध गराउनुपर्छ । यस्तो रकम सङ्घीय सरकारले वार्षिक बजेटमा व्यवस्था गर्नुपर्छ ।
साना तथा घरेलु उद्योग विकास समिति र विभागले तयार गरेका विभिन्न स्वरोजगारका योजनालाई नियाल्दा सात लाखको पुँजीमा दालमोठ, फुरनदानासहितको उद्योग स्थापना गर्न सकिन्छ भने दस लाखको पुँजीमा बेकरी उद्योग सञ्चालन गर्न सकिन्छ । यसैगरी चार लाखको पुँजीमा ललीपप, चकलेट उद्योग सञ्चालनमा आउँछ भने ११ लाखको पुँजीमा गुँदपाक, पुष्टकारीलगायत उद्योग सञ्चालन हुन सक्छ । १५ लाखको पुँजीमा आइसक्रिम उद्योग चल्न सक्छ भने सात लाखमा गुन्द्रुक, मस्यौरा, पापडलगायत उद्योग सञ्चालन हुन्छ ।
युवाको स्वरोजगारको स्किममा चटपटे उद्योग, रसबरी, लालमोहनलगायत उत्पादन, ब्रिकेट उद्योग, अल्लो प्रशोधन, केतुकी र केराको रेसा उत्पादन, बाँसजन्य सामग्री उत्पादन तथा ढाका बुनाइको काम पनि पर्छन् । यसरी आम नेपाली आफ्नो शैक्षिक योग्यता, अनुभव, सीप र बिउ पुँजीका आधारमा स्वरोजगारमा सक्रिय हुने अनि राज्यले बिउ पुँजी र उत्पादित सामान बिक्री हुने गरी बजारको प्रत्याभूति दिने हो भने मुलुकले समृद्धिको लक्ष्य भेट्न लामो समय कुर्नु पर्दैन ।-गोरखापत्र (लेखक सूचना आयोगका प्रमुख आयुक्त हुनुहुन्छ ।)

40 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस